घनश्याम खड्का
राजधानीमा क्षत्रीहरूले नाङ्गो खुकुरी देखाएर जुलुस निकालेको केही सातापछिको एउटा जमघट । त्यहाँ अन्य साथीहरू भेटिए- राजकुमार बानियाँ, भोजराभाट र अरू थुप्रै ।
झल्यास्स भएँ, ए, यिनीहरू पनि क्षत्री ! कहिल्यै कतै हामीबीच ‘जात एउटै’ भन्ने संवादले प्रवेश पाएको थिएन । मैले जातीय चस्माले कहिल्यै हेरेको पनि थिइन । त्यसदिन त्यस्तो विचार किन आएको होला ?
‘हामी क्षत्रीहरू यो देशमा सबभन्दा धेरै छौं’, कुमारबहादुर थापा भन्दै थिए, ‘तर हामी नै पछि परिसक्यौं, संविधानमा हामीलाई ‘अन्य’ भनेर लेखिएको छ । अब आन्दोलनको विकल्पै छैन ।’ ‘मेरा उद्योगमा म पाएसम्म क्षत्रीलाई नै रोजगारी दिन्छु’, उनले गर्वका साथ भने । आन्दोलन कसरी अघि बढाउने भन्नेमा रात परुन्जेल छलफल भयो । कसैले भन्यो, ‘लडेर देखाइदिनुपर्छ ।’ कसैले सुझायो, ‘बुद्धिले काम लिनुपर्छ, बन्द-हडताल र नाराजुलुस होइन, खसहरूलाई जगाउने काम गर्नुपर्छ ।’
हतियार उठाउने कि नउठाउने, टायर बाल्ने कि सिंहदरबार घेर्ने, अनेक उपाय र जुक्तिका बारेमा कुराकानी भए । हतार थियो, बहस चल्दाचल्दै म निक्लिएँ । तर मनमा कुरा खेलिरहेको छ, यो देशका सारा मानिस यसरी जातविषेशको राजनीति गर्न लागे भने अब के होला ? देश कहाँ पुग्ला ? हामी कहाँ पुगौंला ?
जातीय राजनीतिको सिरसिरे हावा वेगवान हुँदै अहिले त्यो क्षत्री र बाहुनको टुप्पी हल्लाउँदैछ । पहाड र मधेस बीचको फाटो चुलिएको छ । उता धर्म र निरपेक्षताको खिचलो पनि देखिन थालेको छ । जात, धर्म, भूगोल र वर्णको पछि लाग्दा मान्छेले कति दुःख भोगेको छ, संसारको इतिहास हेरे प्रस्ट भइहाल्छ । पृथ्वीमा हजारौं युद्ध भयो, भइरहेको छ । करोडौं मानिस मारिए, मारिइरहेका छन् । केका कारण ? जात, धर्म र देशका कारण ।
तर मानिस अनुभवले नसिक्ने अनौठो प्राणी रहेछ । मध्ययुगमा युरोप जे कुराले आक्रान्त थियो, अहिले हामी त्यही कुराले पिरोलिन थालेका छौं । आफ्नो जाति, भाषा र धर्मलाई श्रेष्ठ सावित गर्न हतियार बोक्ने काम भइरहेको छ । मान्छे मारिन थालेका छन् । देशमा कतै न कतै दिनहुँ बन्द-हडताल हुन्छ । के भएको हो यो हामीलाई ? देश, धर्म, जाति र भाषाभन्दा माथि छ जीवन । जीवन यथार्थ हो । जाति, भाषा, धर्म र देश मान्यता हुन् । जीवन चलाउनका लागि यसको आवश्यकता परेको हो र सभ्यताको विकासले यसको जन्म गराएको हो । तर यही मान्यताले मानिसको जीवन बर्बाद भइरहेको छ । धर्म जीवन सजिलो पार्नका लागि हो, मर्न-मार्नका लागि होइन । जात, भाषा र देशको आवश्यकता पनि यहाँभन्दा माथि छैन । मान्छेको मनमा बाहेक कहाँ छ जात ? कहाँ छ धर्म ? कहाँ छ भाषा र देश ? तर मान्छेको मुर्खता औंसीको अँध्यारो जत्तिकै बाक्लो छ । जाबो झण्डाको लागि ज्यान फाल्छ । मार्न-मर्न तयार हुन्छ ।
आस्थाका हिसाबले संसारभरका मानिस दुईथरी छन्, आस्तिक र नास्तिक । आस्तिकहरू भन्छन्, यो चराचर जगतको सृष्टि ईश्वरको इच्छाले भएको हो । कीटपतंग, जनावर मानिस सबै उनका सन्तान हुन् । यता नास्तिकहरू विज्ञानमा विश्वास गर्छन् । जगतको रचना धूलाको कणहरूको टक्करबाट हुनगएको हो भन्छन् । अबौर्ं वर्ष पहिले जीवन पनि एक कोषीय जीवबाट सुरु भएको र क्रमविकासका क्रममा ती बहुकोषीय हुँदै चलचर, थलचर र नभचरमा फैलिएको विज्ञानको मत छ । मानिस पनि त्यही क्रममा बाँदरबाट विकसित भएको उनीहरू ठान्छन् ।
आस्तिक र नास्तिकको दुवै मतमा के कुरो मिल्छ भने संसारका सारा प्राणीमा भ्रातृत्वको सम्बन्ध छ । यस हिसाबले बाँदरहरू पनि हाम्रा पुर्खा ठहरिन आउँछन् भने मान्छे-मान्छे बीचको सम्बन्ध त झनै नजिकको छ । यस्तोमा जात-धर्मको कुरो उठाउनु नै बेकार छ । मानिसहरू विशाल रूखका असंख्य पातजस्तै हुन्, जसको जरो एउटै छ । जात र संस्कृति त हाम्रा जीवनशैलीका पहिचान हुन् । अविद्या र गरिबी मान्छेका असली दुःख हुन् । थिचोमिचो र उँचनीच समाजको खास रोग हो । जातविशेषको राजनीतिले होइन, मानवतावादी व्यवहारले जीवनमा सुख आउँछ, समाजमा मिलाप छाउँछ ।