हुनै छाड्यो भेट

घनश्याम खड्का

बत्ति गएको रहेछ । निस्पट्ट अँध्यारोमा सडक डरलाग्दो सुरुङजस्तो देखिन्थ्यो । ‘यताबाट जाम’ मन्त्रिनिवासको हाताभित्र छिरेपछि हवल्दारले बाटो देखाए ।

अगलबगलका घरमा विजुलीको उज्यालो झ्यालबाट बाहिर निस्किएको देखियो । लोडसेडिङले शहर अँध्यारोमा कतै विलाएको क्षण मन्त्रिनिवासको उज्यालो मोहक हुँदोरहेछ । लोडसेडिङमा पनि कसरी यति उज्यालो ?

‘त्यो व्याट्रिबाट चल्ने हुन्छ नि, के रे त्यो ?’ हवल्दारले केही बिर्सिएजस्तो थियो ।

‘इन्भर्टर ?’

‘हो हो’ उनी भण्डै चिच्याए,’हो त्यो छ क्या क्वार्टरहरुमा ।’ कुन घरमा कुन मन्त्री बस्छन् उनलाई आँखा चिम्ले पनि थाहा हुँदो रहेछ । ‘लौ, अब यहाँभित्र जानुहोस्’ उनले भने,’अर्थमन्त्रीको क्वार्टर यही हो ।’ उनी फर्किए ।

‘यता आउनुहोस यता’ हातमा मैन लिएर एउटी महिला बाहिर निस्किन्,’माथि बस्नुहोस् ।’ ती मिजासिलीको नाम रहेछ रमा । ‘चिया पकाउँछु है’ भनेर भान्छातिर लागिन् । चारैतिर सोफा ओच्छ्याइएको सफा कोठा । सायद यो अर्थमन्त्रीको मान्छे भेट्ने ठाउँ थियो ।

अन्त उज्यालो भए पनि बाबुराम भट्टराईको क्वार्टरमा मैन नबाली धर थिएन । ‘यहाँ चाहिँ इन्भर्टर छैन ?’

‘छ न न त’ भान्छातिरबाट आवाज आयो,’तर आज बलेकै छैन । खाली कराउँछ मात्रै ।’

अघिदेखि आइरहेको एकोहोहो कुईँय आवाज त्यही मोरो इन्भर्टरको रहेछ जसले मन्त्रिनिवासको मौनतालाई निरन्तर विथोलिरहेको थियो । ‘चल्छ कि’ भन्ने आसले रमा यो क्यारकुर सहेरै पनि इन्भर्टर खोलेर बसिरहेकी थिइन् । तर यो विपक्षी दलको नेताजस्तो अटेरी भइरहेको थियो, मरे नबल्ने ।

छेउको घरमा मज्जैले बत्ति बलिरहेको थियो जहाँ पर्यटनमन्त्री हिसिला यमी बस्दिरहिछन् ।

‘उहाँ भर्खरै आउनुभाथ्यो’ रमा बोलिन्,’बत्ति रहेनछ भनेर जानुभो । तपाईँलाई उतै पठाइदिनु भन्नु भा’छ ।’
hisila-yami-baburam-bhatt
Maoist Leader Hisila Yamai and Baburam Bhattrai in Minister Quarter.
त, रमा दिदीले पकाएको चिया पिउन पाइएन । हिसीलाको उज्यालो भान्छामा रमाकै जस्तो काम सम्हालेर बसेकी सामनाले कफि तयार पारिन् ।

‘कस्तो चिसो है’ भनेजसरी जिउ कुक्रुक्क पार्दै हिसिला वैठक कोठामा पसिन् । उनले कानसम्म लगाएको ऊनी टोपीले पनि के संकेत गर्थ्यो भने हाम्री मन्त्री चिसोसँग सम्झौता गर्ने पक्षमा छैनन् ।

‘अचेल जतिखेर पनि हतार हुन्छ’ तातो पानी सुरुप्प पार्दै उनले विरक्तीमा अनुहार खुम्च्याइन् । एकछिन चुप लागिन । अनि भनिन्,’यो अन्तरवार्ता कहिले छाप्नु हुन्छ ?’

उत्तर दिनअघि नै मोबाइल बज्यो । ‘खै, कहाँ हुनुहुन्छ ?’ गणतन्त्र नेपालको पहिलो सरकारमा मन्त्री भएको हिसिला दम्पतीलाई एकै ठाउँमा जुटाएर कुराकानीको चाँजो मिलाएका बाबुरामका सहयोगी विश्वदीप पाण्डे बोल्दै थिए,’हामी यहाँ आइसक्यौं ।’

हिसिला उता जान तयार भइनन् । ‘त्यहाँ त अध्यारो छ’ मोबाइलमा उनी आफैं बोलिन्,’यतै आउनु नि ।’ बाबुरामले नाइँ भनेनन् । केही बेरमा उनी चुपचाप आइपुगे । खैरो जाकेट, खरानी रंगी पाइन्ट र कालो टोपी लगाएका उनको अनुहार बडो क्लान्त थियो ।

‘डाक्टरसाब बिरामी हुनुहुन्छ ?’ अकस्मात जिब्रोबाट यस्तो प्रश्न फुस्कियो । जवाफदिनुअघि एक पटक उनका ५५ वर्षे आँखाले प्रश्नकर्ताको अनुहार कोतरे । ‘त्यस्तो देखिन्छु र ?’ उनको कैफियत थियो,’थकाइले होला ।’

दिनभर एमाले नेतासँग वार्तामा बसेका रहेछन् । थाकेजस्तो देखिनुको यो तत्कालिन कारण थियो कि यस्तो उनको स्थायी मुद्रा हो ? सोध्नै लागेको थिएँ झ्याप्प बत्ती गयो । कसैले इन्भर्टरका गडबडी ठिक गरिदियो सायद । बत्ति फेरि आयो ।

अचेल दिनहरु कसरी बित्छन् मन्त्रीद्वयका ? भेटघाट कत्तिको हुन्छ ? एक्लै हुँदा मनमा के कुरा खेल्छन् ? देशवासीलाई परिवर्तनको सपना देखाउने तिनको आफ्नै आँखामा कस्ता सपना छन् ? यी र यस्तै प्रश्नका खात थिए । छिप्पिँदो रातमा केही क्षणका लागि एकै ठाम बसेका यी दुईका कुरा जतनले सम्झेर संग्रह गरिदिने रेकर्डर नभइदिएको भए बेलाबेलामा निभिरहने बत्तिका कारण विजोग हुने रहेछ ।

………………….

हिसिला बिहान पाँचै बजे उठेर योग गर्छिन्, त्यहि समय विविसी विश्व सेवा र सगरमाथा टेलिभिजन पनि हेर्न भ्याउँछिन् । बाबुराम पनि पत्रिका पढ्दै योग गर्न रुचाउँछन् ।

‘तर मेरो योग र उहाँकोमा फरक छ -यि दुई एक्लै हुँदा तिमी र अरुको छेउमा आरार्थी सम्बोधन गर्छन्)’ बाबुरामले भने,’म अलि क्लासिकल खालको गर्छु, उहाँ मिसमासखाले ।’

दुबैले सँगै बसेर योग नगरेको थुप्रै भइसकेछ । ‘मेरो जिन्दगी अलि फरक खालको छ ।’ बाबुराम बल्ल मुस्कुराए,’जीवनको २३ वर्ष निरन्तर विद्यार्थी भएर बिताएँ । २३ सै वर्ष होस्टलमा बसेँ । यस्तो मान्छेको जीवनचर्या र मानसिकता कस्तो हुन्छ सजिलै अनुमान गर्न सक्नुहुन्छ ।’

बाबुरामकोजस्तो उठ्नुबित्तिकै पत्रिका पढ्ने बानी हिसीलाको छैन । अघिल्लो वर्ष एसएलसीमा बोर्ड प्रथम भएर २७ साल राजधानीमा पढ्न आएका बबुरामलाई चिया खानुभन्दा पहिले अखबार पढ्ने बानी पर्यो । त्यतिबेला खोरखापत्र १० पैसामा पाइन्थ्यो । उनी चाटिचुटी पढ्थे । अहिले पनि यो बानी गएको छैन ।

‘उहाँ सिनेमादेखि विज्ञान र राजनीतिका गहिरा कुरामा पनि उत्तिकै रुची राख्नु हुन्छ’ हिसिलाले बाबुरामको हात मुसारिन्,’एकदम अध्ययनशील मान्छे ।’ प्रतिउत्तरमा ‘डाक्टरसाप’ मुस्कुराए । बाबुरामको यही बानीले हिसिला प्रेममा परेकी रहिछन् ।

‘सन् १९७४ भदौको कुनै महिना हाम्रो भेट भएको हुँदो हो’ बाबुरामले दिल्लीको स्कुल अफ प्लानिङ एण्ड आर्किटेक्चरमा बितेको जवानी नियाले,’मस्नातकोत्तर गर्न गएको थिएँ, उनी स्नातक दोस्रो वर्षमा पढ्दै रहिछन् ।’

तिनताका उनीहरु कस्ता थिए ? यो दुबैले बिर्सेका छैनन् । ‘उहाँ बडो मोर्डन’ डाक्टरसापका ओठ गालासम्म च्यातिए,’नेपाली राम्रोसँग बोल्न पनि आउँथेन ।’

हिसिलाका लेखा चाहिँ बाबुराम ‘गाउँतिरबाट आएको एउटा लुम्रेझाम्रे’ भन्दा अरु केही थिएनन् । आफूभन्दा ६ वर्ष पहिले संसार देखेको त्यो गाउँले केटो जीवनमा नआइदिएको भए हिसिला कहाँ हुन्थिन् यतिखेर ?

‘सायद विदेशमा’ हिसिला खितखिताइन्,’वा आइएनजिओ चलाएर बसिरहेको हुन्थे ।’

काठमाडौंको भुरुङखेलमा जन्मेहुर्केकी हिसिला पिताजी धर्मरत्नका बारे आफूलाई भन्दा बाबुरामलाई थाहा भएको देख्दा तीन छक परेकी थिइन् ।

‘मेरो बाआमाको राजनीतिक/सामाजिक पाटो मलाई थाहै रहेनछ’ हिसिला अलिक विस्मित भइन् । सात ६ दिदीकी बहिनी हिसिलाको रुची नाचगानमा ज्यादा थियो ।

‘म त कलाकारै थिएँ’ भनिन्,’दिल्लीमा छँदा ७ महिना शास्त्रीय गायन प पिढेको पनि थिएँ ।’

सिने मे जलन,

आँखों मे तुफां सा क्यों है,

इस सहर में हर शख्स इतना

परेशां क्यों है

बडो तन्मयका साथ गाउँथिन् हिसिला । ‘उहाँको कलाबाट म प्रभावित थिएँ’ बाबुराम बोले,’बडा राम्रो गाउनुहुन्थ्यो । नाच्थु पनि हुन्थ्यो । मलाई चाहिँ यसमा रुची भएन ।’ रानीतिले ओझेलमा पार्यो गीतलाई । ‘चुनाबले त मेरो भ्वाइसै खाइदियो’ उनी आइत भइन् ।

दिल्लीको चाणक्य हलमा उनीहरु सिनेमा हेर्न जान्थे फुर्सदको दिन पारेर । रंग दे वसन्ती, अंकुरजस्ता सामाजिक सिनेमाका प्रसंग सम्झनमा अझै पनि छन् । नायिका सवना अजमीको क्रान्तिकारी छविले हिसिलाको अभ्यन्तरमा ठूलो प्रेरणा दिन्थ्यो ।

बाबुराम दिल्ली गएकै वर्ष अखिल भारत नेपाली विद्यार्थी संगठनको गठन भयो जसको उनी संस्थापक अध्यक्ष थिए । पहिलो वर्ष हिसिला त्यसकी सदस्य र पछि साँस्कृतिक सचिव हुँदै महासचिव पनि भइन् ।

(फेरि बत्ति गयो, एकछिनमा आयो । इन्भर्टर कुइँय कराइरहेको थियो । ‘त्यो बन्द गर न, याँ इन्टरभ्यू भइराछ, हिसिला भन्थिन् ।’)

बाबुराम पिएचडी गर्न जवाहरलाल नेहरु विश्वविद्यालय गएपछि यी दुईको मित्रता प्रेम र प्रेम विवाहमा अनुवाद भयो । दुरीले निकटता पनि ल्याउँछ क्यारे !

‘२०३७ साल चैत १७ गते’ बाबुरामले ब्रम्हचर्य भंग गरेको दिन सम्झिए,’आफ्नै ढंगले बिहा गर्यौं, दिल्लीमै दर्ता भयो । बाआमाले छुट्टीमा घर गएपछि थाहा पाए ।’

बाआमा दुखी भएनन् ? बाहुनको छोरो भएर यस्तो गर्ने भनेन् ? ‘परिबार अलि उदारै थियो । गाउँतिर सानैमा १४/१५ वर्षमै बिहा गर्थे ।’ भने,’मैले यो उमेरमा पनि नगरेकामा गर्दै गर्दैन कि भन्ने पीर थियो उहाँहरुलाई । गरेको देखेर खुसी नै हुनुभो ।’

हिसिलाको आत्मनिर्भरताले बाबुरामलाई निकै उक्साएको रहेछ । ‘मलाई सँधै नै ऋषीमुनिहरुको जीवनले तान्थ्यो । ब्रम्हचार्य पालन गर्थेँ । बिहा गरेपछि छोराछोरी हुन्छन्, झमेला थपिन्छ जस्तो लागिरहन्थ्यो ।’ उनले भने,’तर उहाँ आत्मनिर्भर खालकी लाग्यो ।’

हिसिलाको धेरै बोल्ने बानी उनलाई मन पर्दोरहेनछ । ‘हुन त आआफ्नो स्वभाव हो’ उनले थपे,’तर धेरै बोल्दा गल्ती पनि हुन सक्छ । त्यसैले सोचेर बोल्नुहोस् भनेर म भन्छु ।’

यही कुरा हिसिलालाई पनि लाग्दोरहेछ । ‘उहाँ साह्रै नै गम्भीर स्वभावको’ छेउमा हाँसिरहेका बाबुरामतिर हेर्दै उनी बोलिन,’मजस्तै नभए पनि अलिबढी बोलिदिए हुने नि जस्तो लागिरहन्छ ।’

विवाहपछि हिसिला काठमाडौं फर्किन् । एउटै छोरी मानषी ४२ सालमा जन्मिन् जो अहिले त्रिभूवन विश्वविदालयमा राजनीति शास्त्र स्नातकोत्तर दोस्रो वर्षमा पढ्दैछिन् ।

अचेल बाआमा र छोरी एकै ठाउँ बसेर खाना खाएको सम्झना उति बाक्लो छैन उनीहरुसँग ।

‘हाम्रो परिबार परम्परागत खाले होइन ।’ बाबुरामले भने,’छुट्टाछुट्टै बस्छौं तर बेलाबेला भेटिराख्छौं । कहिले म उहाँकोमा कहिले उहाँ म कहाँ आउनु हुन्छ । छोरी कोटेश्वरमा ठुलिआमाकाँ बस्छिन् । बेलाबेला भेट्न आइराख्छिन् ।’

बाबुरामले जीवनमा कहिल्यै जागिर खाएनन् । ‘मैले चाहिँ यता आएर पढाएँ’ हिसिला पुल्चोक इन्जिनियरिङ क्याम्पसमा प्राध्यापिका हुँदाको क्षण सम्झिरहेकी थिइन्,’घर परिबार पनि त पाल्नु पर्थ्यो ।’

बाबुराम पिएचडि सकेर नेपाल फिरे । मसाल, एकताकेन्द्र हुँदै भूमिगत जीवनलाई माओवादीको जनयुद्धमा पनि निरन्तरता दिए । जनयुद्धमा हिसिला पनि बाबुरामकै बाटोमा हिँडिन् ।

पार्टीमा तीनचार महिनासम्म पनि उनीहरुको भेट हुन्थेन । एकताका दुबै कारबाहीमा परे । यो खबरले शुभचिन्तकहरु व्यथित भए पनि हिसिला अग्घोरै खुसी थिइन् रे । ‘एक डेढ वर्ष सँगै बस्न पायौं, पढ्न पायौं’ हिसिला खितखिताइन्,’यस्तरी सँगै हनु नपाएको कति भइसकेको थियो ।’

मुक्तीमान, लालध्वज, लालसिंह, विप्लवजस्ता अनेक नाम थिए भूमिगत बाबुरामका । हिसिलाले चाहिँ पार्वती, दुर्गा, सीता र राहुल जस्ता नाम राखिन् । हिस्सी परेको मान्छेलाई नेवारीमा हिसिला भनिन्छ जो भूमिगतकालमा एकदिन साँच्चै हिस्सी परेर हिँडिरहेकी थिइन, नौतनवामा प्रहरीले झन्डै समातेका । भएछ के भने सारी, ब्लाउज, किरिम, पाउडर, लिपिस्टिक आदिले आफूलाई सिंगारी ‘बुर्जुवा’ परिधानमा उनी भारत जाँदै रहिछन् । साथमा एक पुरुष सहयोगी थिए रे ।

‘मलाई त उसले फकाएर बेच्न लैँजादै छ जस्तो ठानेछन् पुलिसले’ हिसिलाका ओठ चले,’मैले शिक्षिका हुँ, राम्रो गर्नु भयो, धन्यवाद भनिदिएपछि खुसी भएर छाडिदिए ।’

यस्तै सम्झना बबुरामसँग पनि छ । कति पटक उनी सेनाको घेरामा परेका रहेछन् । ‘बसेकै ठाउँमा बम पनि खस्यो’ बाबुराम गम्भीर भए,’क्रान्तीमा लागेपछि यस्तो त भइरहन्छ ।’ हिसिलाले थपिन्,’जनयुद्धमा लागेपछि कुन बेला मर्ने कुन बेला बाँच्ने ठेगान थिएन ।’

बाबुराम राजतन्त्र अन्त्य भएको दिन जेठ १५ गते जीवनमै बढी खुसी भए रे । हिसिला नि ? ‘उहाँले जोक भन्दा मज्जा आउँछ ।’ भनिन्,’मान्छे सिरियस भए पनि राम्रो इन्टेलिजेन्ट जोक भन्नु हुन्छ ।’

यो पृथ्वीमा पहिलो पाइलो गोरखाको बेलबासमा हालेका बाबुराम नेपालको मुगु र डोल्पा पुगेका छैनन् । ‘मनाङ र मुस्ताङ पनि नजिकबाट हेर्न पाएको छैन’ उनले भने,’नत्र त पुरै देश डुलेको छु ।’

‘म त हुम्ला, बैतडी, जुम्ला, डडेल्धुरा’ हिसिलाले टेबुलको नक्सामा औंला दौडाइन,’यस्तै यस्तै हो । उहाँजती घुमेकी छैन । तर विदेशचाहिँ मैले धेर घुमेकी छु ।’ बाबुरामले पनि पुरै विश्व एक फन्का लगाइसकेका रहेछन् । ‘तर हामी चीन गएका छैनौं’ भने,’एक पल्ट जाने इच्छा छ ।’ सँगसँगै ? ‘त्यो त परिस्थितिमा भर पर्छ’ बाबुरामले ढुक्कैसँग भने । उनीहरु नगए पनि छोरी मानुषी चार महिना चीन गएर हालै फिरेकी छन् ।

गहुँको रोटी, सागको तरकारी र तीते करेला भनेपछि बाबुरामको मुख रसाउँछ । ‘पकाउन पनि मै सिपालु छु’ बाबुरामले विद्यार्थी जीवन चिहाए,’उहाँलाई पनि मैले सिकाएको थिएँ ।’ हिसिला चाहिँ सलाद भनेपछि भुतुक्क हुन्छिन् । उनीहरु साकाहारी हुन् ? ‘होइन’ बाबुरामले भने,’धेरै थरी मासु खाइयो ।’

गाइको पनि ?

‘खाइयो’ हिसिला बोलिन्,’भूमिगत भएर हिँडेपछि यो खान्न, ऊ खान्छु भन्न कहाँ पाउनु ?’

फुर्सदमा बाबुरामलाई लेखपढ गर्ने इच्छा हुँदोरहेछ । ब्रम्हाण्ड कसरी पैदा भयो भन्ने विषयमा उनी घोत्लिन्छन् रे । ‘जीवनको इतिहास १५ अरब वर्ष पुरानो छ’ उनी गम्भीर मुद्रामा थिए,’हामी असी सय वर्ष त बाँच्छौ नि । यत्रो लामो यात्रामा यति आयु पानीको थोपो जति पनि हुँदैन ।’

One Comment

  1. 1
    Neeti Aryal Khanal Says:

    Hello,
    So amazing that I found your blog. Long time ago, we had met on ‘kabita bachan’ in bhaktapur. I am shobha’s friend, you may not remember. I loved going through your blog and so happy by your successful career in journalism. So, dream came true. I remember talking with you about that too. wishing you all the best


RSS Feed for this entry

Leave a Comment