सहज जीवनको सौन्दर्य

घनश्याम खड्का
‘भोक लाग्दा खान पाउने र निन्द्रा लाग्दा सुत्न पाउने मान्छे भाग्यमानी हो ।’ यो कुरो मैले कहाँ र कहिले पढेँ वा सुनँे सम्झना छैन । तर नबिर्सने गरीे मनमा गढेको रहेछ जो मलाई जहिल्यै विरोधाभासपूर्ण लागिरहन्थ्यो । ‘यस्तो पनि भाग्य हुन्छ कहीँ ?’ मनमा लाग्थ्यो, ‘धेरै पैसा हुनु, इज्जत हुनु, नाम कमाउनु पो त भाग्य । सुत्नु र खानु त के ठूलो भो र ?’
तर अचेल बुझ्दै छु यसमा जीवनको ठूलो सत्य खामिएको रहेछ । निन्द्रा र भोक सबैलाई लाग्छ । तर सबैले भनेकै बेला खान र सुत्न सक्दैनन् । अभावले यो नैसर्गिक आवश्यकताबाट वञ्चित हुनु एउटा कुरा, सब थोक पुगेर पनि यति आधारभूत तर सामान्य आवश्यकता तत्क्षण पूरा गर्न नसक्नेहरू करोडौं छन् यो पृथ्वीमा ।
beauty-of-natural-life
आधुनिक विश्वमा यी दुवैबाट मान्छे बिस्तारै वञ्चित हुँदै गइरहेका छन् । भोक लाग्नेबित्तिकै खाने फुर्सद तिनलाई छैन । निन्द्रा लाग्नेबित्तिकै सुत्ने अवसर सबैलाई हुँदैन । औद्योगिक मुलुकका मान्छे फुर्सदमा सुत्छन्, फुर्सदमा खान्छन्् । हाम्रै देशमा पनि स्कुल-कलेज र कार्यालयमा खाजा खाने समय तोकिएको छ । तर ठिक्क दुई बजे नै भोक लाग्छ भन्ने के छ ?
चिकित्सा विज्ञान भन्छ्, भोक लाग्दा नखानु जति हानिकारक छ, भोक नलाग्दा खानु पनि उत्तिकै । निन्द्रा लाग्दा नसुत्नु जति नराम्रो हो, सुत्दा निन्द्रा नलाग्नु पनि उति नै । भोक लाग्नु भनेको शरीरले ऊर्जा माग्नु हो जसको पूर्ति खाने कुराबाट मात्रै सम्भव छ ।

शरीर एउटा जटिल जैविक यन्त्र हो । भोक लाग्दा पाचन रसहरू सक्रिय हुन्छन् । तिनले काम पाएनन् भने शरीरमा क्षति पुग्छ । ग्यास्टि्रक अल्सर, कब्जियतजस्ता रोग भोक लागेको क्षण नखानाले भएको असर हो । निन्द्राको अनियमितताले पनि अनेक रोग लाग्छन् ।

व्यापार, अध्ययन, जागिर वा यस्तै व्यस्तताले मान्छेलाई गाँज्दै लगेको छ । खासगरी सहरी जीवनमा यो जटिलता बढी देखिन्छ जहाँ सहज स्वाभाविक निन्द्रा पाउनु मुस्किल छ । महत्त्वाकांक्षीहरू रातभर सुत्नु समयको ठूलो बर्बादी ठान्छन् । अध्ययनहरूले के देखाएका छन् भने अमेरिका, जापानलगायत विकसित देशमा धेरै मानिस निन्द्राको औषधि नभई सुत्न सक्दैनन् । नियमित औषधि सेवनले उनीहरू धेरै दुव्र्यसनी भएका छन् । कतिको ज्यान गएको छ । गम्भीर रोगले समातिने धेरै छन् । मात्रामा धेरथोर होला, अनिन्द्राको समस्याले ग्रस्त मान्छे नभएको पृथ्वीको कुनै कुनो पाउनु अब असम्भव छ ।

निन्द्रा एक महाऔषधि हो जीवनको । यो नहुँदो हो त जीवन दिक्कलाग्दो, तनावपूर्ण हुने थियो । निदाएको क्षण हामी कहाँ हुन्छौं ? हाम्रो चेतना कहाँ हुन्छ ?

निन्द्रामा सबै दुःख, घृणा, प्रेम र असफलताहरू लुप्त हुन्छ । विचारहरूको अन्त्य हुन्छ । चेतना कतै पर नभेटिने ठाउँमा पुग्छ । विज्ञानले पत्ता लगाउन नसकेका धेरै कुरामा निन्द्राको रहस्य पनि हो । निन्द्रा के हो ? निदाएको क्षण मान्छेको चेतना कहाँ पुग्छ ? बिउँझेपछि शरीर फुर्तिलो कसरी हुन्छ ? निदाउन नपाउँदा किन जीउ गह्रौं हुन्छ ? यी र यस्ता प्रश्नको उत्तर कत्ति गर्दा पनि पत्ता लागिसकेको छैन ।

आधुनिक जीवनले केही गुमाएको छ भने निन्द्रा गुमाएको छ । यसले दिने प्राकृतिकपना र स्वास्थ गुमाएको छ । निन्द्रामा आएको यही गडबडीले जीवन बढी कोलाहलपूर्ण हुँदै गइरहेको छ । रातभरी नसुतेको दिन संसारै उराठिलो लाग्छ । जीउ गह्रौं हुन्छ, खान रुच्दैन ।

निन्द्राको सम्बन्ध सीधै मान्छेको मनस्थितिसँग जोडिएको हुन्छ । मन विचारहरूले भरिएको छ भने निदाउनु मुस्किल पर्छ । दुःखजस्तै सुख वा उत्तेजनामा पनि निन्द्रा गायब हुन्छ । मानिसहरू अति हर्षको क्षण पनि रातभर निदाउन सक्दैनन् । निदाइहाले पनि शरीरले गहिरो विश्राम पाउन सक्दैन ।

मनोवैज्ञानिकहरूले निन्द्रामाथि निरन्तर खोज र अनुसन्धान गरिरहेका छन् । हालसम्मको अध्ययनले उनीहरू के निष्कर्षमा पुगेका छन् भने निन्द्रामा पनि मन सक्रिय हुन्छ, विचारहरू चलिरहन्छन् । सपना त्यसैको प्रतिफल हो । दमित र कुण्ठित अनेक इच्छा सपनाको रूपमा प्रकट हुने प|mायड तर्क पछिल्ला खोजहरूले पुष्टि भइसकेको छ । निन्द्रामा सपना नदेख्नु स्वस्थ मानसिकताको कसी हो । तर अधिकांशले सपना तुरुन्तै बिर्सने गर्छन् । वैज्ञानिकहरूका अनुसार आठ घन्टा सुत्दा एउटा स्वस्थ मान्छेले १० मिनेटजति मात्रै सपनाहीन निन्द्रा पाउँछ ।

अध्यात्मले निन्द्रालाई अचेतना भनेको छ । अनिन्द्रा र जागरण एउटै कुरा होइनन् । रिस, वासना, अहंकार, लोभ, इष्र्या र कामनाजस्ता भाव अचेतना हुन् । मानिस अक्सर क्रोध, लोभ वा अहंकारकै फन्दामा हुन्छ । यस हिसाबले सबै अनिन्द्रामै हुन्छन् । विचारहरूबाट छुटकारा, शान्त र होसपूर्ण जीवन जागरण हो भन्छन् सन्तहरू । उनीहरू विचारै नगर्ने होइनन् तर विचारको फन्दामा पर्दैनन् रे । हामी सांसारिक मान्छेलाई चाहिँ जे मनमा आयो त्यही गर्न मन लाग्छ । खाने कुरा देखे मुख रसाउँछ, गीत सुन्दा खुट्टाहरू त्यसकै तालमा हल्लिन्छन् । जे नसोचूँ भन्यो त्यही बढी सदृश्य भएर आउँछ । तर ध्यानीहरू मनको यो दशाबाट पार हुन्छन् रे । रहस्यदर्शीहरू भन्छन्, जागृत मान्छे निदाउँदा पनि होसपूर्ण हुन्छ, अचेतचाहिँ हिँड्दा पनि निन्द्रामा । सचेतनाको पहिलो सुरुआत प्राकृतिक जीवन हो । निन्द्रा लाग्नेबित्तिकै सुत्नु र भोक लाग्नेबित्तिकै खानु हो । राम्ररी निदाएकै मान्छे राम्ररी जाग्न सक्छ, खुसी हुन सक्छ र मुस्कुराउन पनि !

Leave a Comment