घनश्याम खड्का
कुखुरा, भेडा-च्याङ्ग्रा र खसी-बोका मान्छेझैं बोल्न सक्ने भए सबभन्दा पहिला के भन्लान् ? अनुमानमा जस्तै उत्तर पनि आउन सक्छ । तर मलाई लाग्छ ती बोल्न सक्ने भए सबभन्दा पहिला ठूलो स्वरले चिच्याउलान्- मान्छे मुर्दावाद । हामीलाई खान पाइँदैन । हत्यारालाई फाँसी दे ।

जीवनमा सबै दुःख मृत्युका अगाडि फिका हुन्छन् । मान्छेले पशुलाई अनन्त दुःख दिएको छ । आफ्नो स्वार्थका लागि बाँधेको छ, जोतेको छ, उसलाई काटेर रगत पिएको छ, उसको मुटुको भुटन बनाएको छ । तीनको सीमित चेतनाका कारण यो सब सम्भव भएको हो ।
कुनै दिन पशु बोल्न सक्ने भए, संगठन गर्न जान्ने भए र बाँच्न पाउने आफ्नो अधिकार बुझे भने ती एक क्षण पनि खेर नफाली मान्छेका विरुद्ध आन्दोलन गर्नेछन् । विज्ञानले भनेजस्तो पृथ्वीमा जीवनको सुरुवात एक कोषीय जीवहरूबाट भएको हो र त्यो पछि उदविकासको अनन्त चरण पार गर्दै करोडौं वर्षपछि मानिसमा पनि अनुवाद भएको हो भने सयौं हजार वर्षपछि पशुमा पनि मान्छेकै जस्तो चेतना पलाउन सम्भव छ । त्यतिखेर तिनले मान्छेका विरोधमा आवाज उठाउन पनि सम्भव छ । तर अहिले नै चाहिँ यो कुरो दन्त्यकथाकी उड्ने राजकुमारी भन्दा पनि बढी अपत्यारिलो सुनिन्छ ।
अचेल बर्डफ्लुको मौसम छ । कुखुरा र पन्छीहरूबाट सर्ने यो रोग फैलिएला भन्ने त्रासको डोरीले सबलाई बाँधेको छ । मानिसहरू सिँत्तैमा दिए पनि कुखुरा खाइहाल्ने साहस जुटाउन सक्दैनन् । संका लागेका पन्छी समातेर मारिदिने सरकारी अभियानै चलेको छ । बर्डफ्लु लागे पनि नलागे पनि कुखुराको नियति मर्नु नै हो । मान्छेको सम्पर्कमा आएका पशुपन्छी प्राकृतिक जीवन बाँच्न पाउँदैनन् । पशुमाथिको यो अत्याचारलाई हामी अत्याचारसम्म पनि भन्न चाहँदैनौं । तर हामीमथि कसैले थोरै मात्रै बन्देज लगायो भने पनि मानव अधिकार खोसियो भनेर कराइहाल्छौं । बाँच्ने अधिकार मान्छेलाई मात्रै छ ? मानिलिऊँ छ रे लौ, तर तिनको मासु खाँदा आफ्नै बाँच्ने चाहना छोटि्टरहेको छैन ? मासुका कारण अनेक रोगहरू लागेका छैनन् ? अस्पतालमा भर्ना भएका मान्छेको टाउका गन्दै थाहा हुन्छ, ज्यादाजसो बिरामीहरू मांसहारी भेटिन्छन् । यो कुनै संयोग होइन । मुटुको रोग, रक्तचापको गडबडी र क्यान्सर संसारमा सबभन्दा फैलिएको रोग हुन् । चिकित्सा विज्ञानको मत के छ भने यी रोग ज्यादाजसो मासु खानेलाई बढी लाग्छ ।
ज्वरो आउँदा, आउँ पर्दा, मुटु दुख्दा र अरू धेरै रोग लाग्दा डाक्टरको सल्लाह हुन्छ- मासु नखानुस् । यसको सीधा अर्थ हुन्छ, मासुले शरीरलाई बेफाइदा गर्छ । नत्र किन मासु नखानु ? जीव वैज्ञानिक चाल्र्स डार्बिनका अनुसार आदिकालका मानिस कन्दमूल र फलफूल मात्रै खाएर जीवन धान्थे । उनी भन्थे, ‘मान्छेको शरीर त्यतिबेलैदेखि शाकाहारी भोजनका लागि उपयुक्त किसिमले निर्माण भएको छ ।’ सरसर्ती हेर्दा यो प्रस्टै बुझिन्छ पनि । मांसहारी प्राणी कुकुर, बिरालो, बाघ आदिको दाँत तीखो -टियरिङ टिथ) र खुट्टामा नंग्रा हुन्छन् । गाई, हात्ती, हरिण, मान्छे र अरू शाकाहारी प्राणीको चाहिँ चपाउने दाँत अर्थात् बंगारा -गि्रन्डिङ टिथ) हुन्छ र तिनको नंग्रा हुँदैन । मांसहारी प्राणी दिउँसो विश्राम गर्छन् र राति सक्रिय हुन्छन् । शाकाहारीको दिनचर्या यसको ठीक उल्टो छ । मांसहारी जिब्रोले पानी खान्छन््, शाकाहारी ओठले । मांसहारी हिंस्रक हुन्छन्, एकले अर्कालाई दबाउँछन्, ज्यानै लिन्छन् । कुकुरले बिरालोलाई, बिरालोले मुसोलाई र बाघले हरिणलाई झम्टिन कुनै कारण चाहिँदैन । ती एकले अर्काको ज्यानै लिन्छन् । शाकाहारी जनावरमा यो बानी हुँदैन । तर मान्छे यसको अपवाद भइसक्यो । यतिका युद्ध र रक्तपात किन भइरहेछ ?
‘जबसम्म जनावर मारिन्छन्’ प्रसिद्ध दार्शनिक लियो टोल्सटयले भनेका छन्, ‘तबसम्म युद्ध भइरहनेछन् ।’ जस्तो आहार उस्तै मन भन्ने दर्शन नै छ । मांसहारी भोजनले मानिसमा पाशविक वृत्ति बढाउने, विवेकको क्षय हुने र आयु घट्ने पूर्वीय दर्शनको अभिमत छ । विज्ञानले पनि यसको पुष्टि गरिसकेको छ । प्राणीले कुनै न कुनै तरिकाले मृत्युको पूर्वाभास पाउँछन् रे । मर्नुअघि तिनको अनुहारमा भय, आक्रोश र पीडाका भाव पोतिएको हुन्छ । वैज्ञानिकले ‘क्रिलियन फोटोग्राफी’ को मद्दतले यो तथ्य पत्ता लगाएको पनि धेरै भइसक्यो । जनावर काट्नेबित्तिकै मरिहाल्दैनन्, लामो समयसम्म छटपछाउँछन् । त्यस क्रममा तिनको शरीरमा पीडा, भय र आक्रोशजनित हार्माेनको निस्पत्ति हुन्छ जुन मांसहारीको जीउमा सजिलै सर्छ । पछि त्यसले रोग र मानसिक विकारहरू निम्त्याउँछ । रिस, आवेग, वासना र अहंकार शाकाहरी भोजनले घटाउने र मांसहारीले बढाउने हाम्रा ऋषिमुनिको तर्क आधुनिक युगले पनि स्विकारिसकेको छ ।
यति हुँदाहुँदै पनि हामीलाई मासु प्यारो लाग्छ । यो नभई कतिको भात रुच्दैन । जीवनप्रतिको संवेदनाको कमीले यसो भएको हो । बेलायती लेखक जर्ज बर्नाड श भन्थे, ‘जनावरहरू मेरा मित्र हुन्, आफ्नो मित्रको भोजन गर्ने मेरो बानी छैन ।’ धर्मका नाममा मात्रै लाखौं पशुपन्छीको बलि दिइन्छ । धर्मलाई गलत रूपमा बुझ्नाले बलि दिने संस्कृति जन्मिएको हो । हिन्दु दर्शनले देवीका सामु मान्छेमा भएको पशुत्वको बलि दिनुपर्छ भनेको छ । काम, वासना, लोभ, मोह, अहंकार, मद, मात्सर्य, इष्र्या, द्वेष आदि विकारलाई हिन्दु दर्शनले पशुत्व भनेको छ । आनन्द र मुक्तिका लागि त्यसबाट छुट्कारा पाउनुपर्छ भन्ने वेदान्ती मत छ । तर मानिसले यसको अपव्याख्या गरेर ती निर्दाेष प्राणीको रगत पिइरहेको छ । यो विवेकसम्मत काम होइन ।